झापा । काठमाडौँमा जारी शिक्षक आन्दोलन सकेर झापा फर्किंदै गरेका शिक्षकहरू सवार एक रात्रिबस झापामा दुर्घटनामा परेको छ।
प्रदेश १–०१–००१–ख ४२ नम्बरको उक्त बस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटल र बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ।
घटनामा परी १६ जना शिक्षक घाइते भएका छन्। उनीहरू सबै काठमाडौँमा जारी आन्दोलनमा सहभागी भई फर्किंदै थिए। घाइतेमध्येका एक शिक्षक लीलाप्रसाद भण्डारीले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार गम्भीर घाइते शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ। “म ड्राइभरको सिट पछाडि थिएँ,” भण्डारीले भने, “गाडी पहिलादेखि नै असामान्य रूपमा हल्लिरहेको थियो। अचानक अनियन्त्रित भएर पल्टियो। गाडीबाट मुस्किलले बाँचियो। इन्धन चुहिएको देखेपछि म घाइते अवस्थामै अरूलाई पनि गाडीबाट बाहिर निकाल्न लागेँ।”
प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकबाट पल्टिएको हो। घटनापछि चालक महेन्द्र कन्दङ्वालाई नियन्त्रणमा लिइएको छ। झिलझिले इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार













प्रतिक्रिया