काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैँ आतंकवादको विरुद्धमा दृढ रूपमा उभिएको र जुनसुकै स्वरूप वा उद्देश्यका साथ गरिने आतंकवादी गतिविधिको नेपालले घोर निन्दा गर्ने स्पष्ट पारेकी छन्।
भारतको काश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासमा आज आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री डा. राणाले नेपाल सधैँ शान्तिको पक्षधर रहेको बताइन्।
उनले भनिन्, “नेपालले आतंकवादका सबै रूप र अभिव्यक्तिहरूको कडा शब्दमा निन्दा गर्दछ। जुनसुकै स्थान, समय र उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापप्रति नेपाल सदैव विरोधमा उभिन्छ।”
डा. राणाले आतंकवादप्रति दृष्टिकोण राख्दा कहिल्यै दोहोरो मापदण्ड नअपनाउनुपर्नेमा जोड दिँदै भनिन्, “नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहद्वारा कुनै पनि राष्ट्र वा जनताविरुद्ध प्रयोग हुन नदिन पूर्ण प्रतिबद्ध छ।”
पहलगाममा भएको आतंकवादी हमलाको नेपाल सरकारले कडा शब्दमा भर्त्सना गरेको उल्लेख गर्दै उनले यस दुःखद घडीमा नेपाल भारत सरकार र भारतीय जनताको पक्षमा दृढतापूर्वक उभिएको बताइन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक नाता नभई सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको स्मरण गराउँदै भनिन्, “हाम्रा खुला सीमाना आपसी विश्वासका प्रतीक हुन्। पारिवारिक सम्बन्धहरूले हाम्रा दुई देशबीच गहिरो नाता गाँसेका छन्। हामी सधैँ सुख–दुःखमा एकअर्काको साथमा उभिएका छौँ। भूकम्पले नेपाललाई तहसनहस पारेको बेलामा सबैभन्दा पहिले सहयोगको हात अगाडि बढाउने पनि भारत नै थियो।”
मन्त्री डा. राणाले पहलगाम घटनामा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको शव तथा अन्य प्रभावित नेपालीहरूलाई नेपाल फर्काउन सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रमका क्रममा उनले आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिन्।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार












प्रतिक्रिया