तेहरान । इरानको होर्मोजगान प्रान्तस्थित शाहिद राजाई बन्दरगाहमा शनिबार एक शक्तिशाली विस्फोट हुँदा ५१६ जना घाइते भएका छन्।
सरकारी टेलिभिजनले आपतकालीन सेवाका अधिकारीहरूको हवाला दिँदै जनाएअनुसार, “विस्फोटमा ५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि पठाइएको छ।”
यसअघि, सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो।
विस्फोटपश्चात् घटनास्थलमा १५ वटा एम्बुलेन्स र ४ वटा एम्बुलेन्स बस तुरुन्तै खटाइएको प्रवक्ताले जानकारी दिएका छन्।
घटनाको प्रारम्भिक विवरणअनुसार, विस्फोट ग्यास ट्यांकीमा भएको हो, जसका कारण आकाशमा बाक्लो धुवाँ फैलिएर वरपरका भवन तथा सवारी साधनहरूमा व्यापक क्षति पुगेको छ।
घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान थालेका छन्।
हाल उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको छ भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू अस्थायी रूपमा रोकिएको छ।
अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार, हालसम्म कुनै मृत्युको आधिकारिक पुष्टि नभए पनि घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार













प्रतिक्रिया