काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्।
अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंको कपनस्थित घरबाट केहीबेरअघि पक्राउ गरेको हो। कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दायर गर्न सिफारिस गरिएको थियो।
सहकारी ठगी र संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि राई लामो समयदेखि फरार थिइन्। उनी स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव पदमा कार्यरत थिइन्। राईलाई मुद्दाबाट उन्मुक्ति दिइएको भन्दै पहिले व्यापक आलोचना भएको थियो।
राईसहित पाँच जनालाई उन्मुक्ति दिइए पनि ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीहरूलाई ६९० जना बचतकर्ताको करिब १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
माया राई नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी र कांग्रेस सभापति शेरबहादुर देउवा समूहकी निकट समर्थक हुन्।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया