भारत । उत्तर भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ।
पहिलो घटना भारतको उत्तरी राज्य हरियाणामा भएको हो। द्रुतमार्गमा सफाइ कर्मचारीहरूको समूहलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै दोस्रो दुर्घटना उत्तर प्रदेशको गोरखपुर जिल्लामा भएको हो। घर बाहिर बसिरहेको अवस्थामा एक तीव्र गतिका कारले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुवै घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार













प्रतिक्रिया