• विषेश रिपोर्ट

काठमाडौं । पछिल्लो केही वर्ष देखि निकै नै चासो, चिन्ता र चर्चा भैरहेको सहकारी ठगी  प्रकरणमा ठगीका नयाँ-नयाँ शैली र संजालको पर्दाफास हुन थालेको छ। सहकारी संचालकहरुले बचतकर्ताको रकम मनोमानी गर्ने गरेको बाहिरिएपछी सुरुभएको सहकारी संकट समाधान भन्दा झनै गम्भीर संकटमा पुगेको तथ्य ग्लोबल नागरिकले फेला पारेको छ।

सहकारी ठगी प्रकरण बाहिरिएपछी अहिले केही सहकारी संचालकहरु जेलको हावा खाइरहेका छन भने अधिकांश सहकारी संचालकहरु फरारको सुचिमा छन। सहकारी संचालक प्रतिष्ठित राजनीतिक घरानाका ब्यक्तिहरु भएकोले पनि राज्य निस्पक्ष हुन सकेको छैन। सहकारी संचालक मुख्य दोषी रहेको प्रष्ट हुँदाहुँदै पनि राज्य प्रशासन सहकारी बाट ऋण लिएका ऋणीहरु माथी छनबिनको डण्डा तेर्साएर निकै ठुलो काम देखाउने होडबाजीमा ब्यस्त देखिन्छ। जन्मजात नै शत्रु झै ठानेर रास्वपा सभापति रबि लामिछाने माथी सहकारीको ऋण लिएको एक संस्थाको साझेदार भएकै कारण राजनीतिक प्रतिशोध साँधिरहेको आरोप सरकार माथी लाग्दै आएको छ। सामान्य रुपमा हेर्ने हो भने पनि ऋण लिएका संस्थाले ऋण तिरेन भने ऋणिले राखेको धितो लिलाम गरेर ऋण असुल उपर गर्नुपर्ने हो। रबि लामिछानेले ऋण लिएको संस्थाका संचालकहरुको खोजीमा राज्य आँखा चिम्लिएर बसेको देखिन्छ। यद्यपि विभिन्न जिल्ला अदालतहरुमा विरुद्ध मुद्दा चलिरहेको हुँदा अदालतले न्याय दिनेमा लामिछाने विश्वस्त देखिन्छन्।

advertisement

सहकारी ठगीमा कुशुमको इन्ट्रीले ६ अर्व झ्वाम

‘चोर माथी चण्डाल’ भन्ने नेपाली उखान मेल खाने गरि सहकारीले बचतकर्ताको अरबौं बचत रकम ठगी गरेको घटना बाहिर आइरहदा पछिल्लो समय प्रभु म्यानेजमेन्ट कि अध्यक्ष कुशुम लामाले उल्टै सहकारीलाई नै अरबौं ठगी गरेको घटना बाहिरिएको हो। कुनै समय अत्यन्तै आक्रामक बजार बिस्तार गर्दै नेपाली रेमिट्यान्स क्षेत्रमा स्थापित प्रभु मनि ट्रान्सफरको रेमिट सेवा संचालनका लागि देशभरका ६ हजार सहकारी बाट तीन लाख देखि तीस लाख सम्म डिपोजिट प्रभु म्यानेजमेन्टले लिएको र रेमिट्यान्स बन्द भैसकेको लामो समय हुँदा समेत फिर्ता नगरेको पाइएको छ।

प्रभु मनि ट्रान्सफरको सुपर एजेण्टको रुपमा प्रभु म्यानेजमेन्ट खडा गरेर अध्यक्ष कुशुम लामाले देशभरका ६ हजार भन्दा धेरै सहकारीलाई सब एजेन्ट बनाएको थियो।

अध्यक्ष कुशुम लामाले सहकारी बाट लिएको धरौटी रकम फिर्ता नगरेको मात्र होइन सहकारीहरुले सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानी गरे बापतको अरबौं रुपैयाँ विभिन्न बाहानामा नतिरेको समेत पाइएको छ। सामान्यतया रेमिट्यान्स कारोबार भुक्तानी भएको दिनको क्लोजिङ समय भित्र सहकारीको खातामा पैसा डिपोजिट गर्नुपर्थ्यो। कुनै कारणले रकम डिपोजिट नभए अर्को दिन डिपोजिट हुनुपर्नेमा महिनौं सम्म करोडौं रकम बाँकी हुँदा पनि बचतकर्ताको बचतलाई सुरक्षीत गर्न संबेदनशिलता अपनाउनुपर्ने जिम्मेवारी बोकेको सहकारी संचालकको गम्भीर त्रुटि देखिन्छ। स्रोतका अनुसार प्रभु म्यानेजमेन्ट कि अध्यक्ष कुशुम लामाले सहकारीलाई भुक्तानीमा ढिला भएको समयको राम्रो ब्याज दिने आश्वासन दिएको स्रोतको दाबी छ। सहकारी प्रकरणमा यो सबैभन्दा ठुलो ठगी प्रकरण हुनसक्ने आँकलन गर्न सकिन्छ।

प्रभु बैंक र ग्रुपको नामको दुरुपयोग

प्रभु म्यानेजमेन्ट कि अध्यक्ष कुशुम लामाले ग्रामीण क्षेत्रका सहकारीहरुलाई प्रभु म्यानेजमेन्ट कम्पनी नै प्रभु ग्रुप र प्रभु बैंक अन्तर्गत रहेकोले धरौटीको ग्यारेन्टी नै प्रभु बैंकले लिने भएकोले ढुक्क भएर काम गर्न आश्वासन दिएर सब एजेन्ट बनाएको पिडित सहकारी संचालकहरुले बताएका छन्। उनिहरुका अनुसार नेपालको प्रतिष्ठित प्रभु बैंक र ब्यापारीक घराना प्रभु ग्रुपको सहायक कम्पनी प्रभु म्यानेजमेन्ट हो भनेपछि सहकारीहरु सबएजेन्ट बनेका थिए तर प्रभु म्यानेजमेन्ट कम्पनी अहिले प्रभु बैंक र प्रभु ग्रुप सङ्ग सम्बन्धित नरहेको थाहा पाएपछि आफुहरु कुशुम लामा बाट ठगीएको सहकारी संचालकहरु निष्कर्षमा पुगेका हुन्।

सुरुवाती चरणमा प्रभु म्यानेजमेन्टमा कुशुम लामा सङ्गै रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कुशुम लामाको गतिविधि शंकास्पद देखिएको कारण आन्तरिक मतभेद सुरुभएपछी २०७१ साल मै प्रभु म्यानेजमेन्ट बाट बाहिरिएका थिए। पछिल्लो समय सहकारीहरुले धरौटी बापतको रकम र रेमिट्यान्स भुक्तानी बापतको रकम कुशुम लामा सङ्ग फिर्ता माग्दा भट्टचनलाई देखाउने गरेकी थिइन। भट्टचनले प्रभु म्यानेजमेन्ट छोडेको दशकौं बितिसकेको छ। सहकारीले फिर्ता पाउनुपर्ने रकमको कारोबार हुँदाको तिथि मिति हेर्ने हो भने पनि उक्त समयमा भट्टचन बाहिरिसकेको र कुशुम लामा अध्यक्ष रहेको देखिन्छ।

यदि भट्टचन सङ्ग लामाको पुरानो कारोबार बाँकी रहेको भए पनि उक्त विषय सहकारी सङ्ग सम्बन्धित नरहेको र सहकारीले प्रभु म्यानेजमेन्ट सङ्ग सम्झौता गरेको कारण प्रभु म्यानेजमेन्टकि अध्यक्ष कुशुम लामाले रकम फिर्ता गर्नुपर्ने पिडित सहकारी संचालकहरु बताउँछन् ।

कानुनी रुपमा सहकारी संस्थाले रेमिट्यान्स सेवा संचालन गर्न पाउने ब्यबस्था छैन। त्यसैले पनि अधिकांश सहकारी संस्थाहरू मौन छन भने केही सहकारी संस्थाले केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) मा जाहेरी दिएका थिए। जाहेरी पछि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि कुशुम लामा फरार छिन। प्रहरी स्रोतका अनुसार, लामामाथि ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको छ।

प्रभु म्यानेजमेन्टले सहकारी संस्थाहरूलाई आकर्षक लाभको लोभ देखाउँदै लगानी संकलन गरेको र सो रकम हिनामिना गरिएको उजुरीहरू प्रहरीमा दर्ता भैरहेकोछ। तर लामा भने केही महिना देखि फरार छिन्। लामाका पति मलेसियन नागरिक भएको कारण उनी पनि मलेसिया पुगेको हुनसक्ने र रेमिट्यान्सको ठूलो रकम मलेसिया पुगेको स्रोतको दाबी छ। कुशुम लामाले हिनामिना गरेको रकम प्रभु म्यानेजमेन्टको सम्पती बेचबिखन गरेर भएपनी फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने पिडितहरु बताउँछन।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com