काठमाडौं । जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न दुई पूर्वप्रधानमन्त्रीहरू आन्दोलन स्थलमै जाने भएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार आन्दोलनरत शिक्षकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भोलि सोमबार दिउँसो साढे १२ बजे उनीहरू नेकपा (एकीकृत समाजवादी) का अन्य वरिष्ठ नेतासहित काठमाडौंको बिजुलीबजारस्थित आन्दोलनस्थलमा जाने छन्।
शान्तिपूर्ण रूपमा अघि बढिरहेको शिक्षक आन्दोलन आज एकाएक उग्र बन्दै हिंसात्मक रूप लिएको थियो। प्रहरी हस्तक्षेपपछि भएको झडपमा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्। त्यस्तै, आन्दोलनस्थलमा रिपोर्टिङ गरिरहेकी पत्रकार सबिना कार्कीसमेत घाइते भएकी छन्।
तीन सातादेखि लगातार जारी आन्दोलन आजको झडपपछि झन् चर्किंदै गएको छ। यस घटनापछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू र सरोकारवाला निकायहरूले आन्दोलनप्रति गहिरो चासो व्यक्त गरेका छन्।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया