काठमाडौं । हिमालयन बैंक संकटमा फसेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर ज.ब. राणाको लापरबाही र कमजोर व्यवस्थापनका कारण बैंकको अवस्था दिनानुदिन जटिल बन्दै गएको छ। वाफियाको प्रावधानविपरित पटक-पटक सीइओ बनेका राणाको खराव प्रदर्शनका कारण बैंक करिब ८ प्रतिशत खराव कर्जा र ७ अर्ब ३६ करोडबढीले ऋणात्मक छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार पनि बैंकहरूले औसत खराब कर्जा ५ प्रतिशतभित्रै राख्नुपर्ने व्यवस्था छ । यद्यपि पछिल्ला त्रैमासमा लगातार खराब कर्जा बढ्न थालेको छ। बैंकहरूले पाँच प्रतिशतभन्दा बढी खराब कर्जाको विवरण सार्वजनिक गर्दा राष्ट्र बैंकले आँखा चिम्लेको देखिन्छ ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनले बैंकहरूको खराब कर्जा औसत ४.८३ प्रतिशत छ। चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरूको खराब कर्जा बढेको हो। गत पुससम्म बैंकहरूको खराब कर्जा औसत ४.४९ प्रतिशत र गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.६५ प्रतिशत थियो।
हिमालयन बैंकको खराब कर्जा सबभन्दा धेरै ७.६८ प्रतिशत छ भने सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, नेपाल, इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, प्रभु र प्राइम बैंकले पाँच प्रतिशतभन्दा बढी खराब कर्जाको विवरण प्रकाशन गरेका छन् ।
हिमालयन बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार, बैंकको आवस्था निकै दयनीय छ । बैंक खराव कर्जाको दलदलमा फँसेकै कारण खुद व्याज आम्दानी र नाफा प्रभावित बन्दा बैंक वाणिज्य बैंकहरुको सूचिको अन्तिममा पुगेको छ।
हिमालयन बैंकको खराव कर्जा सबैभन्दा बढी रहेको छ ।जसका कारण पनि बैंकको नाफा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम छ । हिमालयन बैंकको चैत मसान्तसम्मको तथ्याङ्कको आधारमा बैंकको खराब कर्जा करिब ८ प्रतिशत रहेको छ । कम्पनीको खराब कर्जा वृद्धि भएर ७.६८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ४.९६ प्रतिशत थियो । जुन वाणिज्य बैंकमध्ये कै सर्वाधिक हो।
राष्ट्र बैंक स्रोतका अनुसार प्रोभिजन धेरै गर्नुपर्ने भएकाले संचालनमै नरहेका सांग्रिला होटल लगायतका कतिपय ठूला खराव कर्जालाई पुनर्तालिकीकरण गर्ने भन्दै बैंकले खराव कर्जाको सुचिमा देखाएको छैन। यसले बैंकको खराव कर्जा १२ प्रतिशतभन्दा माथि जाने देखिएको छ।
त्यस्तै, चैत्र मसान्तसम्मको विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म पनि बैंकले अपेक्षित रुपमा व्यापार विस्तार गर्न नसक्दा निक्षेप संकलन जम्मा २ प्रतिशत र कर्जा लगानी १ प्रतिशतले मात्र वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ खर्ब १ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेको छ । गत बर्षको तुलनामा कम्पनीको निक्षेप संकलन २.४६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.४३ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षमा ५ अर्ब २४ करोडले माईनसमा रहेको हिमालयन बैंकको वितरण योग्य नाफा ह्वात्तै बढेको छ। बैंकको वितरणयोग्य नाफा यो बर्ष ७ अर्ब ३६ करोडले ऋणात्मक छ । बैंकको आधार ब्याजदर घटेर ६.८० र स्प्रेडदर ३.५५ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३.९८ प्रतिशत थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ४३ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा ७ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी ८.०८ प्रतिशत घटेको छ । त्यस्तै, संचालन मुनाफा ८.३१ प्रतिशत बढेर ३ अर्ब ८१ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा ३ अर्ब ५१ करोड थियो ।
बैंकको जगेडाकोष १.९१ प्रतिशतले बढेर २२ अर्ब ८३ करोड पुगेको छ भने संचित मुनाफा ७ अर्ब ३६ करोड ऋणात्मक छ । बैंकको प्रतिशेयर नेटवर्थ १७१.४४ रुपैयाँ छ ।
साविकको सिभिल बैंकलाई प्राप्ती गरेपछि हिमालयन बैंकको हालको चुक्ता पुँजी २१ अर्ब माथि छ । तर यति ठूलो पुँजी भएको बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासको मुनाफा भने जम्मा ५० करोडमा मात्र सिमित भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९४ करोड बराबर खुद मुनाफा गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद मुनाफा ७४.३३ प्रतिशत घटेको छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको बार्षिक प्रतिशेयर आम्दानी ३.०८ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको प्रतिशेयर आम्दानी ११.९९ रुपैयाँ रहेको थियो ।
बैंकले आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को साधारणसभा सम्पन्न गरिसको छ बैंकले यो वर्ष पनि लगानीकर्तालाई निरास बनाएपछि लगानीकर्ता संचालक तथा व्यवस्थापनसँग रुष्ट छन् । बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा फरहान तलिब, जीतेन्द्र धिताल, सुनिलबहादुर थापा, आशिष शर्मा, प्रतापजंग पाण्डे, जैसमीन हाडा बज्राचार्य रहेका छन् ।
त्यस्तै, बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शमशेर ज. ब. रा छन् उनी सिभिल बैंकलाई प्राप्ति गरेपछि मर्जरको नाम दिएर बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (वाफिया) २०७३ को प्रावधान विपरित पदमा आसिन छन्। उच्च अदालत पाटनले सीइओको कार्यकालसम्बन्धी व्यवस्थाको व्यख्या गर्दै राणा लगायत ६ वटा वित्तीय संस्थाका सीइओको कार्यकाल यहि बैसाख ९ गतेसम्म मात्र तोकिसकेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा भएको सीईओको कार्यकालसम्बन्धी व्यवस्थाका सन्दर्भको ब्याख्या गर्दै अदालतले उनको अन्तिम कार्यकाल तोकेको हो । तर प्रभु बैंकका सीइओले आदलतबाट व्यक्तिगत रुपमा अन्तरिम ल्याएर पद थमौती गरेपछि त्यसैका आडमा जबर्जस्ती आजीवन सीईओका रुपमा रहँदै आएका राणा अझै वाफियाको प्रावधानविपरीत पद ओगटेर बसिरहेका छन् ।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको पटके कारबाहीमा परेको र संस्थापक सञ्चालकहरू बीच वर्षौंदेखि विवाद चलिरहेकै बेला बैंकबाट प्रवाह भएका अधिकांश ठूला कर्जा उठ्न नसक्दा बैंकको खराब कर्जाले सिमा नाघेको अवस्था छ । तर बैंकका सञ्चालकदेखि उच्च व्यवस्थापन भने पदलुलुप्त भएर नियमविपरित पद ओगटेर बसिरहेका छन् । हिमालयन बैंक पटक पटक नेपाल राष्ट्र बैंकको कारबाहीमा परिसकेको छ तर लाजै पचाएर बैंक प्राईभेट कम्पनी झैँ चलाईरहेका छन्।
कुनै एक व्यक्ति लामो समयसम्म एउटै पदमा रहदा स्वार्थ बाझिंने भएकाले पनि प्रमुख कार्यकारी अधिकृत २ कार्यकालभन्दा बढी रहन नमिल्ने व्यवस्था गरिएको हो । तर हिमालयन बैंकमा सीईओका रुपमा रहेर स्वार्थ बाझिने गरी राणाले आफ्ना आफन्तका नाममा अर्बौं ऋण अपचलन गरेको आरोप छ । सोहि कारण ऋण उठ्न नसक्दा बैंक खराव कर्जाको दलदलमा फसेको हो । राणाविरुद्ध अदालतदेखि नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको भएपनि सम्बद्ध निकायले कारबाही गर्ने र योग्य व्यति नियुक्ति गरी संस्थागत सुधार गर्नमा कुनै चासो देखाएका छैनन् ।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया