काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुन ‘अनन्त’ले जारी शिक्षक आन्दोलनलाई समाधान गर्नुको साटो सरकारले दमनको बाटो रोजेको भन्दै कडा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले सरकारले शिक्षकहरूको माग सुन्नुको सट्टा बल प्रयोग गरेको आरोप लगाए।
आइतबार बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच झडप हुँदा प्रहरीले पानीको फोहोरा र लाठी चार्ज प्रयोग गर्दा एक सञ्चारकर्मीसहित ६० भन्दा बढी शिक्षक घाइते भएका थिए।
पुनले विगतमा सरकारले शिक्षकहरूसँग तीन चरणमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘करिब एक महिनादेखि पेशागत माग लिएर शिक्षकहरू सडकमा छन्। तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा दमनको भाषा बोलिरहेको छ। म यसको घोर निन्दा र भर्त्सना गर्दछु।’
लोकतन्त्रमा जनताको आवाज र असन्तुष्टिको समाधान संवाद र वार्ताबाट खोजिनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं बल प्रयोग र हठ देखाइरहेको पुनको आरोप थियो।
‘लोकतान्त्रिक व्यवस्थामा जनताको असन्तुष्टि र माग वार्ता र संवादबाट सम्बोधन गर्नुपर्छ,’ पुनले भने, ‘तर सम्माननीय प्रधानमन्त्री स्वयं शिक्षकहरूविरुद्ध बल प्रयोग र हठको भाषा प्रयोग गरिरहनु भएको छ।’
उनले सरकारसँग तत्काल वार्ता गरी आन्दोलनरत शिक्षकहरूको जायज माग सम्बोधन गर्न आफ्नो पार्टीको तर्फबाट मागसमेत गरे।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया