काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षक र चिकित्सकहरूको माग सम्बोधनका लागि प्रतिनिधिसभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षक र चिकित्सकहरूको पेसागत हक र अधिकारका विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै सो प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका हुन्।
उनको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन जनाएका छन्।
प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित गरी छलफल गर्नुपर्ने उल्लेख गरिएको छ। प्रस्तावमा विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नगर्नु सरकारको गैरजिम्मेवार व्यवहारको प्रतीक भएको दाबी गरिएको छ।
“विद्यालय शिक्षाजस्तो संवेदनशील विषयप्रति सरकारको बेवास्तापूर्ण व्यवहारले चिन्ता बढाएको छ,” प्रस्तावमा भनिएको छ, “शिक्षा क्षेत्रको उन्नयनका लागि राखिएका महत्वपूर्ण मागहरू बेवास्ता गर्दै सरकार रिले अनशनदेखि काठमाडौं केन्द्रित आन्दोलनसम्म शिक्षकहरूको आवाजप्रति गम्भीर नभएको स्पष्ट देखिन्छ।”
लाखौं विद्यार्थीको पठनपाठन सञ्चालन, निर्धारित समयमै परीक्षा सम्पन्न गराउने, चिकित्सा शिक्षा आयोगका निर्णयहरू कार्यान्वयन गर्ने र स्वास्थ्य सेवा गुणस्तरीय तथा सर्वसुलभ बनाउने जस्ता विषयमा तत्काल ध्यान दिनुपर्ने भन्दै प्रस्तावमा छलफल आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया