काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य बढाउने प्रस्ताव सार्वजनिक गरेका छन्। उनले हाल प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटलाई ३० रुपैयाँमा पुर्याउनुपर्ने धारणा व्यक्त गरे। साथै, प्रति बोतल १ हजार रुपैयाँ पर्ने रक्सीको मूल्य ३ हजार रुपैयाँ कायम गर्नुपर्ने प्रस्तावसमेत उनले राखे।
सोमबार भक्तपुरमा आयोजित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमीको १७औँ स्थापना दिवस तथा ब्लड बैंक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो प्रस्ताव अघि सारेका हुन्।
उनका अनुसार चुरोट र रक्सीको मूल्य वृद्धि गर्दा संकलित अतिरिक्त रकमको केही हिस्सा स्वास्थ्य बिमामा लगानी गर्न सकिनेछ। यसरी अतिरिक्त स्रोत जुट्न सके स्वास्थ्य बिमा कार्यक्रमलाई जीवन्त बनाउन सहज हुने मन्त्री पौडेलको भनाइ थियो। अन्यथा, वर्तमान अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम नै खारेज गर्नुपर्ने जोखिम आउने उनले चेतावनी दिए।
मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुविधा एक लाख रुपैयाँबाट पाँच लाख रुपैयाँसम्म पुर्याउने तयारीका विषयमा समेत जानकारी गराएका थिए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अञ्जना देवी मधिकर्मी लगायतका व्यक्तित्वहरूले समेत स्वास्थ्य क्षेत्रका विभिन्न चुनौती र समाधानबारे आफ्ना धारणा राखेका थिए।
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया