काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको “राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति”को बैठकमा बोल्दै मन्त्री राईले सरकारले अध्ययनका आधारमा आवश्यक भए केही राष्ट्रिय गौरवका आयोजना कटौती गर्नुपर्ने आवश्यकता रहेको बताए।

advertisement

उनले धेरैजसो आयोजना घोषणा मात्रै हुने तर कार्यान्वयन नहुने अवस्थाले मुलुकको आर्थिक भार बढाउने भएकाले अनावश्यक रूपमा योजना घोषणा नगर्न आग्रह गरे। उनले भने, “हाम्रो आर्थिक अवस्थाले धान्न नसक्ने आयोजनाहरू केवल घोषणा गरेर राख्नुको सट्टा सम्भव र कार्यान्वयन गर्न सकिने आयोजनाहरूमा मात्र केन्द्रित हुनु उपयुक्त हुन्छ।”

रक्षामन्त्री राईले स्पष्ट रूपमा भने, “राष्ट्रिय गौरवका आयोजनाहरूमा मेरो पनि धारणा छ—यस्ता आयोजनाहरूलाई अध्ययन गरी आवश्यक परेमा घटाउनुपर्छ। हचुवामा घोषणा गर्ने, तर काम नहुने स्थिति स्वीकार्य छैन। यदि कुनै आयोजना राष्ट्रिय गौरवमा राख्नैपर्ने हो भने राखौँ, तर लथालिङ्ग बनाउने कार्य गर्नु हुँदैन। म क्याबिनेटमा पनि यो धारणा राखिरहेको छु।”

साथै, उनले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने योजना रहेको जानकारी दिए। आफू गाडीबाटै स्थल निरीक्षण गरेर निष्कर्ष निकाल्ने प्रयासमा रहेको उनले बताए।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com