काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ भत्काउनुपर्ने पक्षमा आफू स्पष्ट रहेको बताएकी छन्।

पत्रकारहरूसँगको कुराकानीमा उपमेयर डंगोलले भ्युटावर न त उद्देश्यअनुसार बनेको न त जनताको हितमा रहेको भन्दै यसलाई हटाउनु उपयुक्त हुने धारणा राखिन्। उनले भनिन्, “जनताको नाममा लिइएको जग्गा उनीहरूकै सेवा र प्रयोजनका लागि प्रयोग हुनुपर्छ, न कि व्यापारका लागि।”

advertisement

उनको भनाइमा, महानगरपालिका सटर र भवन बनाएर व्यवसायमा लाग्नु आवश्यक छैन। “म जहिले पनि जनताको पक्षमा उभिन्छु,” उनले भनिन्, “हिजोका दिनमा लिइएको कुरा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न मिल्दैन।”

उपमेयर डंगोलले काठमाडौँको पुरातात्विक र ऐतिहासिक सम्पदाहरू मासेर निर्माण गरिएका संरचनाहरूको समेत गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखिन्। उनले ठमेलको ‘छायाँ सेन्टर’ र ‘होटल हिल्टन’जस्ता संरचनाबारे अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने बताइन्। पोखरीमा बनेको संरचनाबारे उनले भनिन्, “मुद्दा चलिरहेका कारण धेरै भन्न मिल्दैन, तर व्यक्तिगत रूपमा म त्यो संरचना हटाएर पोखरीलाई पुनः जीवन्त बनाउने पक्षमा छु।”

उनले सम्पदाको संरक्षण मात्र होइन, नयाँ संरचना बनाउने नाममा सम्पदा मास्ने कार्य तुरुन्त रोक्नुपर्नेमा जोड दिइन्। “कुनै संरचना बनाउन लाखौं खर्च भएको भन्दै त्यसैलाई जोगाउने नाममा सम्पदा मास्न मिल्दैन,” उनले भनिन्, “हाम्रा ऐतिहासिक सम्पदाहरूलाई जोगाउन सकियो भने त्यो नै साँचो सम्पत्ति हो।”

यसैबीच, मेयर बालेन्द्र शाहले काठमाडौं टावरको नक्सा पास गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमितता गरेको आरोप लगाउँदै उनलाई कारबाही गरेका थिए । उनले टावर निर्माणमा नीतिगत भ्रष्टाचारसमेत भएको दाबी गर्दै त्यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com