काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले वार्तालाई सकेसम्म छिटो निष्कर्षमा पुर्याउने प्रयास भइरहेको जानकारी दिए।
मंगलबार साँझ शिक्षा मन्त्रालयमा मन्त्री पन्तसहित महासंघका वार्ताकारहरूसँग करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक तथा शिक्षा मन्त्री पन्त सहभागी थिए भने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सहभागी थिए।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले वार्ता सकारात्मक रुपमा अघि बढेको र चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
शिक्षक महासंघले मन्त्रालय र मन्त्रिपरिषदबाट तत्काल निर्णय गर्न सकिने विषयहरूसहित नौ बुँदे माग वार्तामा अघि सारेको छ। वार्ता निरन्तर जारी राख्ने सहमति भएको छ र त्यसअनुसार बुधबार पनि वार्ता हुने तय भएको छ।
यसअघि सोमबार पनि मन्त्री पन्तले महासंघसँग प्रारम्भिक छलफल गरेका थिए।
शिक्षक महासंघले सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ।
विद्यालय शिक्षा विधेयक हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विचाराधीन अवस्थामा छ। समितिले विवादित विषय समाधान गर्न उपसमिति गठन गरी छलफल गरिरहेको छ भने अधिकांश विषयहरूमा सहमति भइसकेको बताइएको छ।
शिक्षकहरूको आन्दोलन जारी रहँदा देशभरका करिब २९ हजार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ। साथै भर्ना अभियान, एसईई उत्तरपुस्तिका मूल्याङ्कन र कक्षा १२ को परीक्षा पनि असरमा परेका छन्।
यद्यपि महासंघले वैशाख २१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा प्रभावित नहुने बताएको छ। तर, सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ।
महासंघले आन्दोलन लचक रूपमा अगाडि बढाउने संकेत दिँदै मन्त्रिपरिषदबाट सम्बोधन हुन सक्ने अवस्था देखिएमा आन्दोलनको स्वरूप परिवर्तन गर्न सकिने बताएको छ।
अध्यक्ष सुवेदीले आज पनि सबै शिक्षकलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार












प्रतिक्रिया