काठमाडौं — सर्वोच्च अदालतले पुर्वसांसद रेशम चौधरीलाई थुनामा पठाउने आदेश दिएको भनी प्रहरीलाई पठाइएको एक पत्रलाई लिएर अहिले सर्वोच्च अदालतमै विवाद उत्पन्न भएको छ।
बुधबार बिहान सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखाबाट नेपाल प्रहरीलाई चौधरीलाई पक्राउ गर्न निर्देशनसहितको पत्र पठाइएको थियो। सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पार्टी एकता कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिराज बोहराले पत्र आजै प्राप्त भएको पुष्टि गरेका छन्। डिल्लीबजार कारागार स्रोतले पनि पत्र आजै प्राप्त भएको जनाउँदै कारागारमा चौधरीलाई राखिएको जनाएको छ। सो पत्रमा मुद्दा तथा रिट शाखाका अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर रहेको छ।
तर, सर्वोच्च अदालतभित्र भने उक्त पत्र कसरी र कुन आधारमा पठाइएको भन्नेबारे गम्भीर प्रश्न उठेको छ। अदालतका कुनै पनि न्यायाधीशबाट रेशम चौधरीलाई पुनः थुनामा पठाउने निर्णय भएको छैन। तर, मुद्दा शाखाले योगराज ढकाल (रिगल) को विषयमा २०८० सालको कात्तिकमा गरिएको एक फैसलालाई नजिर मानेर चौधरीसम्बन्धी पत्र जारी गरेको देखिन्छ।
कानुन व्यवसायी र सर्वोच्च स्रोतहरूका अनुसार, कुनै नजिरको आधारमा स्वतः अर्को मुद्दामा कारबाही गर्न सर्वोच्च अदालतको प्रशासनिक शाखालाई अधिकार छैन। यही विषयमा अहिले सर्वोच्चभित्र अनुसन्धान भइरहेको छ भने महान्यायाधिवक्ताको कार्यालयले समेत विषयको गम्भीरता बुझेको र आवश्यक जानकारी लिइरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार













प्रतिक्रिया