काठमाडौं । नेकपा एमालेले आउँदो भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनसम्ममा आफ्नो सदस्य संख्या सात लाख ५० हजार पुर्याउने लक्ष्य लिएको छ। पार्टीले यो वर्षलाई ‘आन्तरिक जीवनको वर्ष’ को रूपमा घोषणा गर्दै संगठन सुदृढीकरणमा विशेष ध्यान केन्द्रित गरेको छ।
एमालेका संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार पार्टी सदस्यता हाल पाँच लाख ५० हजार रहेको छ। उनले आगामी महिनाहरूमा सदस्य संख्या वृद्धि गरी कुल मतदाताको ६ प्रतिशत पुर्याउने योजना रहेको जानकारी दिए।
ढुङ्गेलले भने, “नयाँ सदस्यता थप र पुराना सदस्यहरूको नवीकरण यही वैशाख महिनाभित्रै सम्पन्न गरी जिल्ला कमिटीमार्फत प्रदेश कमिटीमा पठाउने कार्य भइरहेको छ। त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्य विवरण पेश गर्ने व्यवस्था मिलाइएको छ।”
पार्टीले संगठनात्मक ढाँचा मजबुत बनाउँदै विधान महाधिवेशनलाई सफल बनाउन तिव्र तयारी थालेको छ। यसै सन्दर्भमा सदस्यता विस्तारलाई पहिलो प्राथमिकता दिइएको एमालेले स्पष्ट पारेको छ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया