काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन् ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

advertisement

कांग्रेस नेत्रीसमेत रहेकी राणाले अहिले बलियो सरकार रहेकाले पनि संविधानले दिएका अधिकार कार्यान्वयन गराउन सहज अवस्था रहेको बताइन् ।

‘एनआरएन कार्ड वितरणमा धेरै ढिलो भएको हो । तर, अहिले स्थायी सरकार आएको छ । तपाईंहरूले धेरै नै धैर्यता देखाउनुभयो र साथ दिनुभयो । अब यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।

विदेश गएका नेपालीहरू नेपाली नभई देश छाडेर गएका गद्दार हुन् भन्ने धारणा राख्ने कतिपय दलका कारण विगतमा संविधान लेख्ने क्रममा धेरै जुध्नु परेको उनले चर्चा गरिन् । ‘संविधान लेख्दा गैरआवासीय नेपालीहरूलाई अधिकार दिनै हुँदैन भन्नेहरू पनि थिए । विदेश गएकाहरू गद्धार हुन् भन्ने पनि कतिपय पार्टी थिए । संविधान बनाउने क्रममा धेरै छलफल भएपछि मात्र संविधानमा यो व्यवस्था राखिएको हो,’ उनले भनिन् ।

विदेशमा रहेका सबै नेपाली नेपाली नै हुन् भन्नेमा सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस स्पष्ट रहेको उनले बताइन् ।

उनले नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेकाले विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेको पनि बताइन् । कार्यक्रमका सहभागीले पटकपटक गठबन्धन दलहरू फेरबदल गर्दा जनतामा राम्रो सन्देश नगएको टिप्पणी गरेपछि उनको यस्तो जवाफ आएको थियो ।

‘सरकारका नगएसम्म पार्टीका नीति कार्यक्रम लागू गराउन सकिँदैन । तर, हाम्रो पार्टीले एक्लै बहुमत ल्याउन सकेन । आफैंले बहुमत ल्याएको भए कुनै पनि दलसँग मिलेर सरकारमा जानु पर्ने थिएन । बहुमत नआएकाले विभिन्न पार्टीसँग मिलेर सरकारमा जानु परेको हो,’ उनको जवाफ थियो ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com