काठमाडौं ।  इजरायलको राजधानी जेरुसेलमको बाहिरी क्षेत्रमा रहेको घना जंगलमा भयानक आगलागी हुँदा हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। आगलागीका कारण हालसम्म १३ जना घाइते भएका छन् भने कुनै ज्यान गएको खबर आएको छैन।

इजरायली अग्नि नियन्त्रक सेवाले यो आगलागीलाई हालसम्मकै सबैभन्दा ठूलो भन्दै सतर्कता जारी गरेको छ। प्रभावित क्षेत्रका राष्ट्रिय निकुञ्ज तथा जंगलहरूमा सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ।

advertisement

आगो नियन्त्रण गर्न दर्जनौँ विमान र हेलिकप्टर परिचालन गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा जेरुसेलमदेखि तेल अभिभतर्फ जाने प्रमुख राजमार्ग ‘रुट १’ वरिपरि आगो फैलिएको देखिन्छ। पहाडहरूबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको दृश्यले परिस्थिति झन् गम्भीर देखाएको छ।

उद्धार कार्यमा १६० भन्दा बढी अग्नि नियन्त्रक तथा उद्धारकर्मी संलग्न छन्। सेनाले पनि खोज तथा उद्धारमा सहयोग गरिरहेको छ। तर तीव्र हावाका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ।

इजरायलले आगो नियन्त्रणमा लिन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ। स्पेन, फ्रान्स, रोमानिया, क्रोएसिया र इटालीले आगो निभाउनका लागि विमान पठाउने प्रतिबद्धता जनाएका छन्।

शहीद सैनिकहरूको स्मृतिमा मनाइने राष्ट्रिय दिवसकै दिन यो भयावह आगलागी भएकोले जनमानसमा थप पीडा थपिएको छ।

यो विपत्तिपूर्वक परिस्थितिलाई नियन्त्रणमा लिन इजरायली सरकार र अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूका संयुक्त प्रयास जारी छन्।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com