काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही मिनेटका लागि बत्ती जानु लोडसेडिङ नभई स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट गरेका छन्।
शुक्रबार प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पाँचदेखि सात मिनेटसम्मको बत्ती अवरोधलाई लोडसेडिङ भन्न नहुने धारणा व्यक्त गरे। उनका अनुसार यस्तो अवरोध ग्राहकको मिटरमा देखिएको ट्रिपिङका कारण हो, जुन प्रविधिजन्य समस्या हो।
शाक्यले भने, “वर्षभरिमा औसतमा हरेक ग्राहकको मिटरमा ८२५ पटक ट्रिपिङ भएको देखिन्छ। कसैलाई एक हजार पटक भएको होला, कसैलाई सय पटक। तर, यो प्रविधिले आफैं तथ्य बोल्छ — यहाँ ढाट्न मिल्दैन। एक पटक ट्रिपिङ हुँदा औसतमा ३७ मिनेटसम्म बत्ती गएका घटना छन्।”
उनले सामाजिक सञ्जालमा यस्ता छोटा अवरोधलाई लोडसेडिङको रूपमा चित्रण गर्नु भ्रामक हुने बताए। “अब लोडसेडिङ सुरु भयो भनेर हल्ला गर्नुको साटो तथ्यांक हेरेर बुझ्न आवश्यक छ,” उनले थपे, “हामी यस्ता अवरोध क्रमशः घटाउँदै लैजाने योजना बनाइरहेका छौं।”
कार्यकारी निर्देशक शाक्यले वर्षायाममा विद्युत् खेर जाने र सुख्खायाममा माग अनुसार आपूर्ति गर्न नसकिने चुनौतीको पनि उल्लेख गरे। उनले भविष्यमा ऊर्जा व्यवस्थापन थप जटिल हुने संकेत गरे।
हाल २३ सय मेगावाटको विद्युत् माग आपूर्ति गर्नुपर्ने प्रणालीमा १३ हजार ७१४ मेगावाट क्षमताका सबस्टेसनहरू सञ्चालनमा रहेको जानकारी दिँदै शाक्यले भने, “हाम्रो उत्पादन क्षमता ३ हजार ५११ मेगावाट भए पनि सबस्टेसन तर्फको पूर्वाधार राम्रो भए पनि वितरण सञ्जाल भने कमजोर छ। यही कारणले ट्रिपिङको समस्या देखिएको हो।”
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार












प्रतिक्रिया