काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको षड्यन्त्र जनताले विफल पारेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चा, वाग्मती प्रदेशको प्रथम अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष दाहालले हालै माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको गतिविधिमा गम्भीर धक्का पु¥याएको दाबी गरे।
‘हामी अभियानमै थियौँ, तर काठमाडौंमा राजावादी शक्तिहरूले वितण्डा मच्चाउने प्रयास गरे। त्यसको जवाफ दिन हामीले अभियान रोकेर राजधानी आएका थियौँ,’ उनले भने, ‘हाम्रो पार्टी, समाजवादी मोर्चा र जनताको एकताले त्यो प्रतिगामी षड्यन्त्रलाई तत्कालै परास्त गर्यो।’
प्रचण्डले अझै पनि प्रतिगामी शक्ति सक्रिय रहेको भन्दै आगामी दिनमा थप आन्दोलनको आवश्यकता पर्न सक्ने चेतावनी दिए। उनले पार्टीमा आबद्ध विभिन्न जातीय र क्षेत्रीय संगठनहरूलाई शक्ति सञ्चय गर्न र तयारी अवस्थामा रहन आग्रह गरे।
‘यथास्थितिवादी र प्रतिगमनकारीहरू इतिहासलाई पछाडि फर्काउन, जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्न षड्यन्त्र गर्दै छन्,’ उनले भने, ‘तर हामी संसदमा, सडकमा र जनताको माझमा खबरदारी गर्दै आएका छौँ र अगाडि पनि गर्ने छौँ।’
प्रचण्डले जनताको अधिकार जोगाउन माओवादी केन्द्र अग्रपंक्तिमा रहेको भन्दै जनआन्दोलनको भावना र उपलब्धिहरूको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार












प्रतिक्रिया