काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान अघि नबढाइएकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया अघि नबढाउनुका कारणबारे सरकारसँग प्रश्न गरे। उनले ठूला दलका नेताहरूलाई कानुनी कारबाहीबाट जोगाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
“किन ठूला दलका नेताहरूलाई कारबाही गर्न सकिँदैन भन्ने प्रश्न उठ्छ। धनराज गुरुङलाई पनि पक्राउ गरेर अनुसन्धान गर्ने हैसियत सरकारसँग छ कि, कि केवल राजनीतिक प्रतिशोधका लागि प्रक्रिया अघि बढाइन्छ?” उनले प्रश्न गरे।
सांसद पराजुलीले सहकारी पीडितको रकम कति फिर्ता भएको छ भन्ने विवरण सार्वजनिक गर्न सरकारसँग माग गरे। उनले सोधे, “१० महिनासम्म कांग्रेसकै गृहमन्त्री हुँदा पनि मुख्य अभियुक्त जीवी राईलाई किन पक्राउ गरिएन?”
उनले थपे, “१६ अर्ब ९० करोडमध्ये जीवी राईले ७ अर्ब आफूले लिएको र तिर्छु भनेको भनिएको छ। बाँकी रकम कसले लिएको हो भन्ने अनुसन्धान गर्दा अरू संलग्नहरू उदाङ्गिने डरले पक्राउ गर्न ढिलाइ गरिएको हो भन्ने आशंका जनताबीच फैलिएको छ।”
सांसद पराजुलीले एपीवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको पुष्टि भइसकेको उल्लेख गर्दै, “सरकार ढल्ने डरले अनुसन्धान प्रक्रिया अघि नबढाइएको हो?” भन्ने गम्भीर प्रश्न उठाए।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार













प्रतिक्रिया