काठमाडौं  ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रम निर्माणमा राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन्।

प्रतिनिधिसभामा आजदेखि सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटै पक्षको सोचले बनाइने नीति तथा कार्यक्रमले देशका जटिल समस्या समाधान गर्न नसक्ने स्पष्ट पारे।

advertisement

उनले भने, “परिणामविहीन विगतका नीतिहरूको निरन्तरताले मुलुकमा आवश्यक परिवर्तन ल्याउन सक्दैन। ७० वर्षदेखि एक अंकको आर्थिक वृद्धिमा सीमित हाम्रो अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्‍याउन व्यापक सुधार आवश्यक छ। अब टालटुले उपायले देश चल्दैन, न त राजनीतिक दलहरू चल्न सक्छन्। आजको आवश्यकता चौतर्फी सुधार हो।”

शर्माले नीति तथा कार्यक्रम केवल एक नेताको सोचमा सीमित हुनु हुँदैन भन्दै सबै पक्षको सहभागितामा बहस र संवादमार्फत राष्ट्रिय सहमति बनाइनुपर्ने धारणा राखे।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम देशलाई पछाडि धकेल्ने खालको भएको भन्दै उनले त्यसमा व्यापक संशोधन गर्नुपर्ने माग गरे। “आर्थिक विकास सत्ता र प्रतिपक्षको विषय होइन, राष्ट्रिय हितको विषय हो,” उनले जोड दिए।

उनले शिक्षा, स्वास्थ्य, भूमिसुधार, रोजगार सिर्जनाजस्ता क्षेत्रहरूमा नीति तथा कार्यक्रम कमजोर देखिएको टिप्पणी गरे। “पुरानै असफल र फेल भइसकेका कार्यक्रमहरूको दोहोरिनु नीति कार्यक्रमको कमजोरी हो,” उनले भने।

त्यसैगरी, सांसद शर्माले संघीयता कार्यान्वयनप्रति सरकारको प्रतिबद्धता प्रस्ट देखिन नसकेको पनि बताए। स्थानीय तहलाई सेवा प्रवाहको प्रतिस्पर्धात्मक प्रणालीमा ल्याउने स्पष्ट योजना सरकारको नीति कार्यक्रममा नदेखिएको उनको भनाइ थियो।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com