काठमाडौं । वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।
उनको मंगलबार दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो। केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई सोमबार आईसीयूमा सारिएको थियो।
नेपाल लामो समयदेखि पार्किन्सन रोगसहित विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए। रोगले जटिल रूप लिएपछि उनी सक्रिय राजनीति बाट टाढिएका थिए।
विक्रम संवत २०१० सालमा जन्मिएका नेता नेपालले राजनीतिक जीवनको लामो अवधि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग बिताए। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको मन्त्रिमण्डलमा उनी सूचना तथा सञ्चार मन्त्री बनेका थिए। त्यसपछि उनले शिक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।
प्रदीप नेपाल नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थिए।
उनको निधनले नेपाली वाम राजनीति एक अनुभवी र विचारशील नेतृत्वबाट वञ्चित भएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया