काठमाडौं । भारतद्वारा पाकिस्तानमाथि गरिएको सैन्य आक्रमणप्रति चीनले गहिरो दुःख प्रकट गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
बुधबार बिहान भारतले गरेको मिसाइल आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको र ३५ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस घटनाप्रति चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो।
“भारतको आज बिहानको सैन्य कारबाहीप्रति चीन दुःखी छ। हालको परिस्थितिले हामीलाई चिन्तित बनाएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
चीनले भारत र पाकिस्तान दुवै आफ्नो छिमेकी मुलुक भएको स्मरण गराउँदै सबै प्रकारका आतंकवादको विरोधमा स्पष्ट अडान दोहोर्याएको छ। साथै, उनले दुबै मुलुकलाई संयमता अपनाउन र तनाव थप गहिरिने कदमबाट टाढा रहन सुझाव दिएको छ।
“हामी दुवै पक्षलाई आग्रह गर्दछौं कि उनीहरूले संयमित व्यवहार अपनाउनेछन् र परिस्थितिलाई झन जटिल बनाउने कुनै पनि गतिविधिबाट टाढा रहनेछन्,” चिनियाँ मन्त्रालयले भनेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावप्रति प्रतिक्रिया दिँदै हालको आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया