काठमाडौं — पाकिस्तानको लाहोरस्थित वाल्टन रोडनजिकै भारतीय जासुसी ड्रोन खसालिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरा र पाकिस्तानी समाचार संस्था समा टीभी ले स्थानीय प्रहरी स्रोतलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

यसअघि लाहोरमा एक अज्ञात विस्फोट भएको रिपोर्ट गरिएको थियो। विस्फोटको आवाज गोपाल नगर र नसीराबाद क्षेत्र वरपरका स्थानहरूमा सुनेपछि स्थानीयवासीहरू त्रसित हुँदै घरबाट बाहिर निस्किएको र केही स्थानमा बाक्लो धुवाँ देखिएको बताइएको छ।

advertisement

प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। यद्यपि ड्रोन खसिएको र विस्फोटबीचको सीधा सम्बन्ध पुष्टि भइसकेको छैन।

पाकिस्तानी अधिकारीहरूले भारतीय ड्रोन वाल्टन विमानस्थल नजिकै खसेको दाबी गरिरहेका छन्। यस विषयमा भारतीय पक्षको कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

यस घटनासँगै भारत र पाकिस्तानबीचको तनाव थप चुलिएको छ। मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानको नियन्त्रणमा रहेका कश्मीरसहित ९ स्थानमा हवाई आक्रमण गरेको थियो। भारतले ती आक्रमणहरू आतंककारी लुकेका स्थानहरूमा केन्द्रित रहेको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारणको बस्तीमा आक्रमण गरिएको आरोप लगाएको छ।

पाकिस्तानी सेनाका अनुसार ती हमलामा कम्तीमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएका छन्। उता, बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको जवाफी गोलीबारीमा १५ जना मारिएका र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

स्थिति दिनप्रतिदिन चर्कँदै गएपछि दुई देशबीच खुला युद्धको खतरा गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com