काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका बीच भारत सरकारले पाकिस्तानी फिल्म, वेब सिरिज, गीत तथा पडकास्टहरूलाई देशभित्र प्रसारण गर्न रोक लगाएको छ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले सार्वजनिक गरेको एक विज्ञप्तिमा ओटीटी प्लेटफर्महरू, मिडिया हाउसहरू र सेवा प्रदायकहरूलाई पाकिस्तानी विषयवस्तु हटाउन निर्देशन दिइएको उल्लेख छ। यो निर्देशन सशुल्क र निःशुल्क दुबै प्रकारका डिजिटल प्लेटफर्महरूमा लागू हुने बताइएको छ।
मन्त्रालयले सूचना प्रविधि नियमावली २०२१ अन्तर्गत यो सल्लाह (एड्भाइजरी) जारी गर्दै भारतको सार्वभौमसत्ता, सार्वजनिक व्यवस्था तथा विदेशी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धमा असर पार्ने सामग्रीप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “राष्ट्रिय सुरक्षाको दृष्टिकोणले सबै मिडिया संस्थाहरू, समाचार एजेन्सीहरू तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रक्षा तथा सुरक्षासम्बन्धी विषयवस्तुको रिपोर्टिङ गर्दा उच्च जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्छ र प्रचलित कानुन तथा नियमहरूको कडाईका साथ पालना गर्नुपर्छ।”
यस निर्णयसँगै भारतमा पाकिस्तानी सांस्कृतिक सामग्रीहरूको पहुँच झनै सिमित हुने देखिन्छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया