काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र रुसले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको स्पष्ट पारेका छन्।
हालको विश्व परिदृश्यमा एकपक्षीय सोच, शक्तिको दुरुपयोग र दादागिरी प्रवृत्तिको विरोध गर्दै, उनले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षणमा चीन–रुस मिलेर अघि बढ्ने बताएका छन्।
राष्ट्रपति सीले चीन–रुस सम्बन्ध ऐतिहासिक गहिरो मित्रताको आधारमा निर्माण भएको भन्दै यस सम्बन्धलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाउने लक्ष्य राखिएको बताए। द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा उनले ऐतिहासिक सत्यको रक्षा, विकासशील राष्ट्रहरूको हकहितको संरक्षण तथा समावेशी र समान विश्व व्यवस्था निर्माणमा चीन–रुसको संयुक्त प्रयास हुने बताएका छन्।
ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता रणनीतिक क्षेत्रहरूमा सहकार्यलाई थप गहिरो बनाउने आवश्यकतामाथि उनले जोड दिएका छन्। साथै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्य गर्दै उच्चस्तरीय पूर्वाधार विकासलाई अघि बढाउने दृष्टिकोण पनि उनले प्रस्तुत गरे।
सीले शिक्षा, संस्कृति, पर्यटन, चलचित्र तथा खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरूलाई प्रवर्द्धन गर्दै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाइने बताए।
उनको भनाइमा, अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै आए पनि चीन दृढताका साथ आफ्ना कार्ययोजना अघि बढाउने र रुससँग सहकार्य गर्दै विश्व प्रणालीमा आवश्यक सुधार गर्ने दिशामा लागिरहनेछ।
यो भेटवार्ताले चीन–रुसबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकेत गरेको विश्लेषण गरिँदैछ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया