काठमाडौं । भारतले चेनाब नदीमा निर्माण गरिएको सलाल बाँधको ढोका खोलेको छ।
केही दिनअघि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न बाँधका ढोका बन्द गरेको थियो। यो कदम उसले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि चालेको हो। तर अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको जोखिम बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ढोका खोलिएसँगै चेनाब नदीमा पानीको बहाव तीव्र बनेको छ, जसका कारण पाकिस्तानका समथर भूभागहरू डुबानमा पर्न सक्ने खतरा देखिएको छ। जिन्युजका अनुसार भारतको यस निर्णयले पाकिस्तानका तराई क्षेत्रहरूमा डुबानको अवस्था सिर्जना हुन सक्छ।
यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका भारतीय सैनिक अड्डाहरूमा आक्रमणको प्रयास गरेको भारतले दाबी गरेको थियो। यद्यपि पाकिस्तानका रक्षामन्त्रीले भने उक्त आरोप अस्वीकार गरेका छन्।
भारतले उक्त दाबी सार्वजनिक गरेको भोलिपल्टै सलाल बाँधका ढोका खोलिएको हो, जसले दुई देशबीचको सम्बन्धमा थप तनाव पैदा भएको छ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया