काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण पाकिस्तानका संवेदनशील क्षेत्रहरूमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षितरूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउन आग्रह गरेकी छिन्।
श्रेष्ठले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पत्र लेख्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
उनले पत्रमा लेखेकी छिन्, “विगत केही दिनयता भारत र पाकिस्तानबीच तनावग्रस्त अवस्था देखिएको छ। यतिबेला पाकिस्तानमा मानवीय क्षति बढ्दो छ र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू डर र असुरक्षाको महसुस गरिरहेका छन्। पाकिस्तानका लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट र सहिवल जस्ता शहरमा एमबीबीएस अध्ययनरत ८० भन्दा बढी नेपाली विद्यार्थी रहेका जानकारी प्राप्त भएको छ। ती विद्यार्थीहरूले स्वदेश फर्कने वातावरण मिलाइदिन सरकारसँग अनुरोध गरेका छन्।”
श्रेष्ठले पत्रमार्फत परराष्ट्र मन्त्रालयसँग केही महत्वपूर्ण प्रश्नहरू उठाएकी छन्—
“विद्यार्थी उद्धारको विषयमा मन्त्रालयले के कस्तो तयारी गरेको छ? इजरायलको जस्तै चार्टर्ड उडानको व्यवस्था हुने हो भने, त्यो कुन अवस्थामा गरिनेछ? यदि तत्काल नेपाल ल्याउन सम्भव भएन भने, तिनीहरूलाई सुरक्षित राख्न, बसोबास तथा खानपानको व्यवस्था के कस्तो गरिन्छ?”
उनले छिमेकी मुलुक भारतमा पनि धेरै नेपाली विद्यार्थी रहेका कारण त्यहाँको विद्यार्थी विवरण संकलन गरेर आवश्यक सुरक्षा योजना बनाउने विषयमा समेत सरकारसँग जानकारी माग गरेकी छिन्

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया