काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसकेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति शेरबहादुर देउवाको प्रत्यक्ष दोष रहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति जस्तो कार्य मन्त्रिपरिषद्को निर्णयबाट सहज रूपमा गर्न सकिने भए पनि दलहरूबीचको भागबण्डा र राजनीतिक स्वार्थका कारण अहिले सम्म नियुक्ति हुन नसकेको बताए।
उनले भने, “सरकार एउटा गभर्नर नियुक्त गर्नसमेत असमर्थ छ। मन्त्रिपरिषद्को सामान्य निर्णयबाट हुने नियुक्ति दुई दलको आन्तरिक झगडाका कारण अल्झिएको छ। यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रसहित सम्पूर्ण आर्थिक प्रणालीमा पर्न गइरहेको छ। सरकारलाई त्यसको कुनै मतलब छैन—उनीहरूलाई त केवल आफ्ना कार्यकर्ता राख्ने र आर्थिक क्षेत्र कब्जा गर्ने चासो छ।”
सिंहले देश दुई दलको कब्जामा परेको भन्दै जनताको हितभन्दा पनि दलगत स्वार्थ प्राथमिकतामा परेको आरोप लगाए। उनले थपे, “यो देश नेपाली जनताको हो कि केवल कार्यकर्ताको? दुई प्रमुख दलले मिलेर देशको आर्थिक प्रणाली तहसनहस पारिसकेका छन् र अब सम्पूर्ण देशलाई नै नष्ट पार्न लागिपरेका छन्। प्रधानमन्त्री र सभापति दुवै यसमा दोषी छन्।”
त्यसैगरी, उनले खेतीपातीको मुख्य सिजनमा मल र बीउको चरम अभाव रहेको उल्लेख गर्दै, मल तस्करी खुलेआम भइरहेको र सरकार मौन बसेको आरोप पनि लगाए। सिंहले किसानलाई दूध, उखु जस्ता उत्पादनको मूल्य नपाउनुमा सरकारी संयन्त्र नै दोषी रहेको भन्दै अहिलेको सरकार ‘विचौलियाको सरकार’ भएको टिप्पणी गरे।
“सरकार किसानको पक्षमा छैन, किसान पीडित छन्, तर सरकार विचौलियाको पक्षमा छ,” सांसद सिंहको आरोप थियो।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया