एजेन्सी । भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीको सुरुवात गर्दै पाकिस्तानका विभिन्न क्षेत्रहरूमा आक्रमण गरेपछि पाकिस्तानले त्यसको प्रतिउत्तरस्वरूप ‘अपरेशन बुनयान-उल-मरसूस’ सञ्चालन गरेको घोषणा गरेको छ।
पाकिस्तानी सरकारी सञ्चारमाध्यमहरू पीटीभी न्यूज र रेडियो पाकिस्तानले सुरक्षा निकायलाई उद्धृत गर्दै जनाएअनुसार उक्त अपरेशन अन्तर्गत पाकिस्तानले भारतको ब्यास क्षेत्रमा अवस्थित ब्रह्मोस क्षेप्यास्त्र भण्डारण केन्द्र ध्वस्त पारेको दाबी गरेको छ।
‘बुनयान-उल-मरसूस’ शब्दको अर्थ हुन्छ – “बलियो संरचना” वा “मजबुत आधार”। पाकिस्तानले जारी गरेको वक्तव्यमा भारतका अन्य सैन्य आधारशिविरहरूमा समेत आक्रमण जारी रहेको उल्लेख गरिएको छ।
पाकिस्तानी पक्षले भारतको उधमपुरस्थित हवाई बेस र पठानकोटको एक हवाई क्षेत्र समेत ध्वस्त पारेको दाबी गर्दै आएको छ। “पाकिस्तानी नागरिक र मस्जिदहरूमाथि आक्रमण गर्न प्रयोग गरिएका ती सबै सैन्य आधारहरू अहिले हाम्रो निशानामा छन्,” वक्तव्यमा भनिएको छ।
भारतले मे ७ तारिख राति पाकिस्तानभर एकैसाथ ‘अपरेशन सिन्दूर’ अन्तर्गत हमला सुरु गरेको थियो। पाकिस्तानी सेनाको जनसम्पर्क निकाय आईएसपीआरका अनुसार सो दिन ६ स्थानमा गरी २४ वटा आक्रमण भएका थिए, जसमा ३३ जना पाकिस्तानी नागरिकको ज्यान गएको र ७६ जना घाइते भएको जनाइएको छ।
पाकिस्तानी सेनाले तुरुन्त प्रतिक्रिया दिँदै पाँच वटा भारतीय लडाकु विमान खसालेको, भारतीय ब्रिगेड मुख्यालय र नियन्त्रण रेखा (एलओसी) का चेकपोस्टहरू ध्वस्त पारेको दाबी गरेको छ। साथै, मे ७ यता पाकिस्तानले ७७ वटा भारतीय ड्रोन मारिएको पनि दाबी गरेको छ।
भारतले मे १० तारिख तीनवटा पाकिस्तानी हवाई अड्डाहरूमा सतह-देखि-आकाशसम्म मार गर्न सक्ने क्षेप्यास्त्र प्रक्षेपण गरेको आरोप पाकिस्तानी पक्षले लगाएको छ, जसको जवाफस्वरूप ‘अपरेशन बुनयान-उल-मरसूस’ सुरु गरिएको हो।
दुई देशबीचको यो सैन्य तनावको सुरुवात भारतको पहलगाम क्षेत्रमा भएको आतङ्कवादी आक्रमणबाट भएको हो, जसमा २६ जनाको ज्यान गएको थियो।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया