काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै देशलाई गरिब बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा देश कंगाल बनाउनेहरू नै आज पुनः सत्ता खोजिरहेको भन्दै आलोचना गरे।
उनले भने, “अचम्म लाग्छ, देशलाई यति वर्षसम्म गरिबीमा राख्नेहरू नै फेरि हामी नभई भएन, हामी आउँछौं, साथ देऊ भन्छन्। लाज नमानेर यस्तै कुरा गरिरहेका छन्।”
प्रधानमन्त्री ओलीले पछिल्लो ३० वर्षको अवधिमा देशले उल्लेख्य प्रगति गरेको दाबी पनि गरे। “आजको विकास, पूर्वाधार निर्माण, जनजीवनमा आएको परिवर्तन — यी सबै तथ्यांकले देखाउँछन्।”
उनले देशको विकास र समृद्धिको अभियानलाई निरन्तर अघि बढाउनु पर्ने आवश्यकता पनि औंल्याए। “देश बस्न लायक बनाउनु छ, विकास गर्नैपर्छ,” उनले भने, “अहिलेको नेपाल — हिमाल, पहाड, हरियाली, स्वच्छ हावा — साँच्चै देवभूमि हो।”
उनले यसै क्रममा पूर्वराजालाई संकेत गर्दै टिप्पणी गरे, “यस्तो अक्सिजनले भरिएको देशमा फोक्सोको व्यापारी कहाँबाट आयो?”
प्रधानमन्त्री ओलीको यो वक्तव्यले विगतका शासकहरूलाई लक्षित गर्दै वर्तमान सरकारको विकास यात्रालाई समर्थन गर्न आग्रह गरेको देखिन्छ।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया