काठमाडौं । भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौता पश्चात् पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै यसलाई “पाकिस्तानका लागि ऐतिहासिक विजय” भनेका छन्।

सम्बोधनको क्रममा प्रधानमन्त्री शरिफले पाकिस्तानी सेना, नौसेना तथा सशस्त्र बलका सबै अधिकारी र जवानहरूलाई बधाई दिंदै राष्ट्रको रक्षा र स्वाभिमानमा देखाइएको संकल्पको प्रशंसा गरे। साथै, उनले विपक्षी दलप्रति पनि धन्यवाद व्यक्त गर्दै राष्ट्रिय एकताको भावना सराहना गरे।

advertisement

शरिफले भारतले लगाएको युद्धविराम उल्लंघनको आरोपलाई पूर्णरूपमा खारेज गर्दै भने, “हाम्रा विरुद्ध लगाइएका सबै आरोपहरू निराधार छन्, यिनको निष्पक्ष अनुसन्धान हुनुपर्छ। यदि कसैले हाम्रो स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुर्‍याउने प्रयास गर्‍यो भने, हामी त्यसको प्रतिकार गर्न तयार छौँ।”

उनले पाकिस्तानमा हालै भएका ड्रोन आक्रमणहरूलाई गम्भीर रूपमा उल्लेख गर्दै मस्जिदहरू ध्वस्त भएको र निर्दोष नागरिकहरूको ज्यान गएको दाबी गरे। “यसप्रति सुरक्षाबलले उचित जवाफ दिएका छन् र हामीले आफ्नो सिद्धान्तमा कुनै सम्झौता गरेका छैनौँ,” उनले बताए।

प्रधानमन्त्री शरिफले युद्धविराम सम्झौतालाई सम्पूर्ण क्षेत्रको शान्ति र स्थायित्वका लागि आवश्यक कदमको रूपमा व्याख्या गरे। उनले भने, “यो सम्झौता करोडौँ पाकिस्तानी नागरिकको हितमा गरिएको हो, र हामी यसप्रति सकारात्मक दृष्टिकोण राख्छौँ।”

सम्बोधनको क्रममा उनले अन्तर्राष्ट्रिय समर्थनप्रति आभार व्यक्त गरे। विशेष रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै उनले भने, “युद्धविराममा वासिङ्टनको भूमिका उल्लेखनीय रहेको छ।” उनले बेलायतलाई सुझाव र समर्थनका लागि धन्यवाद दिए भने चीनलाई “निकट, विश्वासिलो र प्रिय मित्र” भन्दै विशेष धन्यवाद ज्ञापन गरे।

अन्त्यमा शरिफले आशा व्यक्त गरे कि पानी बाँडफाँड, कश्मीरलगायत अन्य विवादास्पद मुद्दाहरू समेत अब सुल्झने दिशामा अघि बढ्नेछन्।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com