काठमाडौं । शिष्टाचार र औपचारिकता पालनाको सन्देश दिन प्रधानमन्त्री केपी शर्मा ओली अग्रपंक्तिमा देखिन्छन्। भाषामा शुद्धता र सम्बोधनमा मर्यादाको कुरा उठाउँदै सञ्चारमाध्यमप्रति पटक–पटक कटाक्ष गर्न उनि पछि पर्दैनन्। तर, जब कुरा आफ्नै व्यवहारमा आउँछ, प्रधानमन्त्री ओलीको आचरणले भने उल्टो सन्देश दिने गरेको छ।

शनिबार बालुवाटारमा आयोजित विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको शैलीले फेरि एक पटक शिष्टाचारको परिभाषामाथि प्रश्न उठाएको छ।

advertisement

तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ गराउँदै छन्। औपचारिक समारोहको मर्यादा अनुसार प्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तित्व शपथ समारोहको दौरान उभिएर सहभागिता जनाउने अपेक्षा गरिन्छ। तर प्रधानमन्त्री ओली भने कुर्सीमा मात्र बसेका थिएनन्, उनको आसन नै अस्वाभाविक र गैरशिष्ट देखिएको थियो।

यही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्कीलाई र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ गराउँदा समेत प्रधानमन्त्रीको आसन परिवर्तन भएन।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । … नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’

शब्दप्रति यति चनाखो प्रधानमन्त्री आफ्नै आचरणमा देखिएको अव्यवस्थित र असमयिक प्रस्तुतीले उनको भाषण र व्यवहारबीचको विरोधाभास झल्काएको छ। शिष्टाचारको पाठ अरूलाई पढाउने प्रधानमन्त्रीले अब आफैँ पनि त्यसको अभ्यास गर्ने समय आएको देखिन्छ।

 

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com