काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको आन्दोलनलाई फेला परिसकेको पुरानो प्रयासको दोहोराइ भन्दै तीव्र चेतावनी दिएका छन्। उनले चैत १५ गतेको प्रदर्शनलाई ‘फुटेको बेलुन’ को संज्ञा दिँदै जेठ १५ गते पुनः आन्दोलन गर्ने तयारीलाई दुस्साहस भनेका छन्।

काठमाडौंमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूलाई फेरि आन्दोलनको नाममा उक्सिन नदिन चेतावनी दिए। उनले भने, “सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो, हामीले एक चोट हानेपछि उनीहरूको बेलुन फुटेको छ। अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि! खबरदार, त्यो हुनेवाला छैन।”

advertisement

संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रचण्डको चेतावनी आएको हो। समितिले आजै बसेको बैठकमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

प्रचण्डले जातीय, वर्गीय, क्षेत्रीय र पहिचानमा आधारित उत्पीडित समुदायहरू अब अधिकार र पहिचानको चेतनाले जागिसकेको बताए। उनले भने, “नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्रीय समुदायहरू अहिले सचेत र संगठित छन्। जागेका जनतालाई कुनै पनि प्रतिगामी शक्तिले रोक्न सक्दैन। नेपाली जनता नै अन्ततः विजयी हुनेछन्।”

चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई उनले ‘वितण्डा’ को रूपमा चित्रण गर्दै ती समूहहरू अझै पुरानै हत्या र आतङ्कको बाटोमा लागेको आरोप लगाए। “तीनकुनेमा जुन वितण्डा देखियो, त्यसले पुष्टि गर्छ—१२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि सोझो हुँदैन भनेझैं, ती मण्डले–गुण्डा प्रवृत्तिहरू फेरि त्यहीँ फर्किएका छन्,” उनले भने।

प्रचण्डले स्पष्ट पारे—राजावादीको आन्दोलन कुनै वैचारिक आन्दोलन नभएर प्रतिगमनको प्रयास हो, र देशभरीका जनताले अब गणतन्त्र र समाजवादलाई रोज्ने निष्कर्षमा पुगेका छन्।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com