काठमाडौं । यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले संवादमा ३५० जना सहभागी हुने जानकारी दिइन्। तीमध्ये १७५ जना विदेशी पाहुनाहरू रहनेछन। उनले संवादमा विभिन्न मुलुकका संसदीय उपाध्यक्ष, मन्त्रीहरू तथा उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहने बताइन्।
संवादमा सहभागी विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको र समकक्षी मन्त्रीहरूसँग साइडलाइन बैठकको व्यवस्था गरिएको पनि मन्त्री राणाले जानकारी दिइन्।
उनका अनुसार सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरूप सरकारले हालसम्म झण्डै १० वटा पूर्व-संवाद कार्यक्रम आयोजना गरिसकेको छ। तीमध्ये जुम्लामा ‘हिमाली संवाद’, काठमाडौंमा ‘वायु संवाद’ लगायतका कार्यक्रम रहेका छन्।
तीन दिनसम्म सञ्चालन हुने सगरमाथा संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। कार्यक्रममा चीन, भारत तथा कोप २९ का अध्यक्ष एवम् अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी प्रतिनिधिहरूले विशेष सम्बोधन गर्नेछन्।
संवादमा १.५ डिग्री सेल्सियसभन्दा कम तापमान वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रको दीगो विकास, साना द्वीपीय राष्ट्रहरूमा भइरहेको क्षति र हानि, लैङ्गिक समानता, पुस्तान्तरणीय न्याय लगायतका १२ वटा प्रमुख विषयमा छलफल गरिनेछ।
संवादको मूल उद्देश्य जलवायु परिवर्तन र हिमाली क्षेत्रका मुद्दामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको मन्त्री राणाले बताइन्। सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुनेछ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार













प्रतिक्रिया