काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असरमा नेपालको योगदान न्यून भए पनि यसको प्रतिकूल प्रभाव भने सबैभन्दा बढी नेपालले व्यहोर्नु परेको बताउँदै चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, “जलवायु परिवर्तन अब कुनै टाढाको खतरा मात्र होइन, यो हाम्रो समयको सबैभन्दा गम्भीर चुनौती बनिसकेको छ। पृथ्वीको वातावरण, जनजीवन र समृद्धिमा यसले गहिरो असर पारिरहेको छ।”
उनका अनुसार नेपाल जस्तो मुलुकले यो संकट सिर्जनामा खास भूमिका नखेले पनि कठोरतम परिणाम भने यहीँका जनताले भोगिरहेका छन्। “हिमनदीहरू पग्लँदैछन्, वर्षा अनियमित हुँदैछ, पहिरोले बस्तीहरू बगाइरहेका छन्, अकस्मात् बाढी र खडेरी आउँछन् – तर पनि हामी निरन्तर डटिरहेका छौं,” प्रधानमन्त्रीले उल्लेख गरे।
उनले वातावरण संरक्षणमा नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै हिमालय क्षेत्रलाई प्रकृतिले दिएको ‘जलवायु सन्तुलनको केन्द्र’को रूपमा चित्रण गरे। “हाम्रा हिमालयहरू सम्पूर्ण क्षेत्रलाई चिस्याउने प्राकृतिक सन्तुलनका स्रोत हुन्,” प्रधानमन्त्री ओलीले जोड दिए।
उक्त अवसरमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनविरुद्ध एकताबद्ध भएर कार्य गर्न आग्रह समेत गरे।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया