काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादनमा बृद्धि हुँदै गइरहे पनि सोअनुसार प्रसारण लाइन सञ्जाल विस्तार हुन नसक्दा आपूर्ति प्रभावित भइरहेकाे बताएका छन्।

शुक्रबार स्युचाटार सबस्टेसनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले भने, “यदि प्रसारण लाइनको सञ्जाल तीव्र गतिमा विस्तार गर्न सकेनौं भने सानो–सानो घटनाले पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) गराइरहन्छ।”

advertisement

उनका अनुसार बिहीबार राति देखिएको विद्युत् अवरोध यस्तै संरचनागत कमजोरीका कारण भएको हो। उनले चेतावनी दिँदै भने, “यदि समयमै समाधान गरिएन भने यस्ता साना समस्याबाटै ठूला दुर्घटनासमेत निम्तिन सक्छन्।”

उनले आफैँ बिहीबार राति साढे दुई घण्टा कन्ट्रोल रुममा बसेर अवस्था अवलोकन गरेको स्मरण गर्दै भने, “अब हामी हिजोभन्दा अझ राम्रो ढंगले काम गर्छौं। चिन्ता लिनुपर्ने अवस्था छैन, प्रणालीलाई सुधार गर्दै अगाडि बढ्छौं।”

शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्क पर्याप्त बलियो नभएको स्वीकार गर्दै भने, “माग र प्रणाली दुबै बढिरहेका छन्, तर पूर्वाधार नबढ्दा अहिले प्रणाली ‘विक लिंक’ मा पुगेको छ।”

उनले थपे, “जहाँ–जहाँ विक लिंक छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ, ट्रिपिङ हुन्छ। प्रसारण लाइन क्षमताको सीमा पुगिसकेको छ, यसले गर्दा कहिलेकाहीँ हामी आफैँले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउँछ।”

उनका अनुसार स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या देखिएको छ भने ढल्केबर–चन्द्रनिगाहपुर–पथलैया प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको छ। उनले उल्लेख गरे, “वर्षामा पर्याप्त विद्युत् हुँदा पनि लोडसेडिङ हुनुको कारण त्यही हो।”

शाक्यले निष्कर्षमा भने, “प्रणालीले धान्न नसक्दा आपूर्तिमा समस्या आएको हो। अब माग र आपूर्ति सन्तुलनमा राख्न प्रसारण लाइन पूर्वाधारको विस्तार अपरिहार्य भएको छ।”

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com