काठमाडौं । राजधानीको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका क्रममा देखिएको सुरक्षा कमजोरीबारे उपत्यका प्रहरी कार्यालयले आन्तरिक छानबिन सुरु गरेको छ।

एसएसपी शेखर खनालको नेतृत्वमा गठन गरिएको सात सदस्यीय छानबिन समितिमा एसपी प्रवीण धिताल, एसपी अपिल बोहरा लगायत अन्य अधिकारीहरू छन्। समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूसँग बयान लिँदै घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।

advertisement

तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। विशेषतः पत्रकार रजकको उद्धारमा ढिलाइ भएको र समयमै दमकल पुग्न नसकेको विषयमा प्रहरीमाथि गम्भीर प्रश्न उठेका छन्।

२५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रमा आगलागीबाट एक पत्रकारको मृत्यु हुनु र उद्धार हुन नसक्नु ‘गम्भीर त्रुटि’ भएको भन्दै आलोचना भइरहेको छ। सोही कारण समितिले अहिलेसम्म ३५ जना प्रहरी (अधिकृतदेखि जवानसम्म)सँग सोधपुछ गरिसकेको छ। घटनास्थलमा खटिएका डिएसपी वीरेन्द्र गोदार र जयश्वर रिमालसहितका उच्च अधिकारीहरूबाट पनि बयान लिइएको छ।

समितिले दमकल नपुगेको कारण र आगो नियन्त्रणमा ढिलाइबारे बुझ्न काठमाडौँ महानगरपालिकाको दमकल चालक र घटनास्थलमा खटिएका सशस्त्र प्रहरी बलका अग्नि नियन्त्रकहरूसँग पनि जानकारी लिएको छ।

त्यस दिन दुर्गा प्रसाईंले बागमती प्रदेशको ०२७ च ३८४७ नम्बरको गाडी चलाउँदै प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ लागेका थिए। अहिले उनीसहित प्रदर्शनमा संलग्न रहेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र तथा अन्य ५२ जना प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतका अनुसार घटनाको गम्भीरता हेर्दै छानबिन समितिलाई विशेषतः पत्रकार रजकको उद्धारमा देखिएको कमजोरीको कारण पत्ता लगाउने जिम्मेवारी दिइएको छ। समितिले आगामी दिनमा थप व्यक्तिहरूसँग बयान लिएर प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com