काठमाडौं  ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् ।

सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गरेकी हुन् ।

advertisement

परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

मन्त्री डा राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् ।

यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी छन् ।

सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै आउकी छन् ।

साथै शुक्रबारको सो भेटका क्रममा मन्त्री डा राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरेकी थिइन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com