काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सुशासन, स्थायित्व र तीव्र विकासका लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएको बताएका छन्।
शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आयोजित “युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रम”लाई सम्बोधन गर्दै उनले मुलुकलाई अवरोधरहित रूपमा अघि बढाउन एमालेको स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गरे।
“हामीले ढिलो बुझेका छौँ कि देशको लागि एमालेको नेतृत्व आवश्यक छ। साना स्वार्थ बोकेर हल्ला फैलाउनेहरूले भ्रम सिर्जना गरे पनि युवाहरूले अब यथार्थ चिन्नुपर्छ,” ओलीले भने, “देश बिग्रन नदिने हो भने, राजनीतिक स्थायित्व चाहिने हो भने एमालेको बहुमतको सरकार नै अपरिहार्य छ।”
प्रधानमन्त्री ओलीले आफूलाई एमालेबाहिरकै एक व्यक्तिले देशलाई अस्थिरता र आर्थिक संकटबाट बचाउन एमालेको सरकार चाहिन्छ भनेर भनेको प्रसंगसमेत सुनाए।
“एउटा साथीसँग कुराकानी गर्दा उनले नै भने — यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने एमालेको नेतृत्वमा सरकार नहुँदासम्म सम्भव छैन,” उनले स्मरण गरे।
उनले युवाहरूलाई पार्टीप्रति आकर्षित गर्दै लामो यात्रामा समर्पण, मेहनत र अनुभवको आवश्यकतालाई पनि जोड दिए।
“म युवालाई एमालेमा आएर तुरुन्तै अध्यक्ष बन भनेर उक्साउन चाहन्नँ,” उनले भने, “तर म भन्न चाहन्छु — आइए, अनुभव बटुल्दै, योगदान पुर्याउँदै तपाईंहरू पनि नेतृत्वको स्थानमा पुग्न सक्नुहुन्छ। मेसी वा एम्बापे एकै दिन बनेका होइनन्। समय, परिश्रम र प्रतिबद्धता नै सफलता ल्याउँछ।”
कार्यक्रममा थुप्रै युवा उद्यमीहरूलाई सम्मान गरिनुका साथै केही नयाँ सदस्यहरूले पार्टी प्रवेश गरेका थिए।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया