काठमाडौं । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–६ रपनामा स्थानीय एक युवकले खुकुरी प्रहार गरी दुई जना वृद्ध महिलालाई घाइते बनाएका छन्। शनिबार बिहान २० वर्षीय धनवीर धानुकले ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी आक्रमण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, बिखमतीको टाउको र दाहिने पाखुरामा तथा दुरोपतीको बायाँ कानमा चोट लागेको छ। घाइते दुवै जनाको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, आक्रमणकारी धनवीर र घाइते बिखमतीका नाति दिनेश धानुकबीच लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दिनेशलाई लक्षित गरी आक्रमण गर्न गएका धनवीरले उनी घरमा नभेटिएपछि बिखमती र दुरोपतीमाथि खुकुरी प्रहार गरेका थिए।
प्रहरीले धनवीरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया