काठमाडौं । सरकारका निर्णयहरू मनोमानी ढंगले भइरहेको भन्दै सत्तारुढ गठबन्धनभित्रैबाट असन्तुष्टि बढ्न थालेको छ। प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सांसदहरू सरकारको कार्यशैलीप्रति खुलेर असन्तुष्टि जनाउन थालेका छन्।
एमालेको नेतृत्वमा बनेको वर्तमान सरकारमा नेपाली कांग्रेस प्रमुख साझेदार भए पनि कांग्रेसकै नेताहरू सरकारप्रति गम्भीर प्रश्न उठाउन थालेका छन्। संसददेखि सडकसम्म आलोचना बढ्दै गइरहेका बेला आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारप्रति तीव्र आलोचना गरे।
विशेष समय लिएर बोलेका सांसद गौतमले आफू ११ वर्षदेखि संसदमा रहेको स्मरण गराउँदै अहिले जस्तो जनताले सरकारप्रति भरोसा गुमाएको अवस्था पहिले कहिल्यै नदेखेको बताए। उनले संसदले जनताका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको र संसद आफै निष्प्रभावी जस्तो देखिन थालेको टिप्पणी गरे।
“११ वर्ष संसदमा बित्यो, तर अहिलेको जस्तो सरकारप्रति जनताको विश्वास टुटेको अवस्था मैले देखेको थिइनँ। कांग्रेस र एमालेको सहकार्यमा सरकार बने पनि जनताले चाहेजस्तो काम भएको अनुभूति हुन सकेको छैन। संसदमा जनभावना झल्किने खालको चलायमानता छैन,” गौतमले भने।
उनले देशका सबै क्षेत्र र संस्थाहरूमा बढ्दो दलीयकरणप्रति चिन्ता व्यक्त गर्दै त्यसले जनमानसमा निराशा थपिएको बताए। न्यायपालिकाप्रति समेत जनताको विश्वास घटिरहेको उल्लेख गर्दै उनले भने, “न्यायपालिका प्रतिको भरोसा पनि कमजोर हुँदै गएको देखिन्छ, जसले गर्दा जनताको आशा मरेको अनुभूति भइरहेको छ।”
गौतमले मुलुकको दीर्घकालीन समाधानका लागि प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे। उनले देश संघीय प्रणालीमा गए पनि जनता अझै निराशामै रहेको भन्दै अब शीर्ष नेताहरूले गम्भीरतापूर्वक टाउको जोड्नुपर्ने समय आएको बताए।
“अब मुलुकलाई अघि बढाउन राष्ट्रिय सहमति अपरिहार्य भइसकेको छ। संविधान संशोधनदेखि जनविश्वास निर्माणसम्मका काम गर्न सहकार्य जरुरी छ। यदि हामीसँगै अघि बढ्न सक्दैनौं भने संघीयता, गणतन्त्र र तीन तहको सरकारको औचित्यमै प्रश्न उठ्छ,” उनले चेतावनी दिए।
गत असार २९ गते एमालेको नेतृत्वमा सरकार गठन भएको थियो। त्यतिबेला संविधान संशोधनलगायतका विषयमा सहमति गरिएको भए पनि एक वर्ष पुग्नै लाग्दा पनि ती सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसभित्रैबाट सरकारको आलोचना चर्किँदै गएको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया