काठमाडौँ । नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई ६ महिनाभित्र पीडितको सम्पूर्ण रकम फिर्ता गर्न लिखित प्रतिबद्धता गराएर अस्थायी रूपमा जेलमुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सहकारीको समस्या देशको आर्थिक स्थायित्वमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै, त्यसको दीर्घकालीन समाधानका लागि नीति तथा कानुनी पुनरावलोकन अत्यावश्यक रहेको धारणा राखे।
सांसद आचार्यका अनुसार, ठगीमा संलग्नलाई जेलमा राखेर मात्रै सहकारी क्षेत्रको समस्या समाधान सम्भव छैन। बरु, उनीहरूलाई निश्चित समयसीमाभित्र अर्थात् ६ महिनाभित्र पीडितको बचत रकम फिर्ता गर्ने शर्तमा अस्थायी रूपमा जेलमुक्त गर्न सकिने व्यवस्था गर्नुपर्ने उनले बताए। तर, निर्धारित समयभित्र रकम फिर्ता नगरेमा कडा कारबाहीको प्रावधानसमेत आवश्यक रहेको उनको धारणा छ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सहकारी क्षेत्रको समस्यालाई सम्बोधन गर्ने स्पष्ट र प्रभावकारी नीति ल्याउन सरकारले अग्रसर हुनुपर्ने जोड दिए।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया