काठमाडौं । गाजामा इजरायली सेनाको निरन्तर आक्रमण जारी रहँदा पुनः ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ। पछिल्लो बमबारीमा परी कम्तीमा १२५ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार, यस पटकको आक्रमण ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासी क्षेत्रमा समेत केन्द्रित भएको थियो। सो क्षेत्रमात्रै कम्तिमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

advertisement

यता, कतारमा युद्धविरामको विषयमा हमाससँग वार्ता चलिरहेको बेला इजरायलले आक्रमण जारी राखेको छ, जसले वार्ताको भविष्यप्रति आशङ्का पैदा गराएको छ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब मुलुकका नेताहरूले गाजामा भइरहेका आक्रमणहरू तत्काल रोक्न आह्वान गरेका छन्। उनीहरूले गाजावासीको पीडामा मल्हम लगाउन अन्तर्राष्ट्रिय समुदायसँग मानवीय सहायता पुर्‍याउन सक्रिय हस्तक्षेपको माग गरेका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा हालसम्म ५३ हजार २७२ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १ लाख २० हजार ६७३ जना घाइते भएका छन्। गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार भग्नावशेषमा अझै पनि धेरै मानिस पुरिएका कारण मृतक सङ्ख्या ६१ हजार ७०० नाघ्ने अनुमान गरिएको छ।

इजरायली पक्षले भने हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणमा १ हजार १३९ जना इजरायलीको मृत्यु भएको र २०० भन्दा बढी अपहरणमा परेका दाबी गर्दै आएको छ।

यो स्थितिले गाजामा चरम मानवीय संकट सिर्जना गरेको छ, जसले युद्ध तत्काल अन्त्य गरी शान्तिपूर्ण समाधानको मागलाई अझ तीव्र बनाएको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com