काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रको एक खरिद प्रक्रियामा गैरकानुनी लाभ लिई राज्यलाई हानि पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको हो। भ्रष्टाचारको आरोपमा पौडेलसँगै तत्कालीन सहायक निर्देशक रमेश पौडेल लगायत पाँच जना अभियुक्त छन्।
उक्त आर्थिक वर्षमा केन्द्रको “NITC/GNCB-६-०७५/०७६” शीर्षकमा भएको खरिद प्रक्रियामा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँको लागत अनुमान तयार पारिएको थियो। सो परियोजनामा म्याक्स इन्टरनेशनल नामक कम्पनीले २०७६ असार ४ गते बोलपत्र पेस गरेको थियो।
बोलपत्रको आधारमा केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ करोड ६५ लाख रुपैयाँ र ‘अनसाइट सपोर्ट’ शीर्षकमा भ्याटबाहेक ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले सो भुक्तानी प्रक्रियामा अनियमितता देखिएको भन्दै संलग्न व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया