काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारूढ गठबन्धनप्रति कांग्रेसभित्र पनि धेरै असन्तुष्टि रहेको बताएका छन्।

सोमबार नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले भने, “गठबन्धनमा हाम्रो पनि धेरै असन्तुष्टि छन्। एमाले नेतृत्वलाई पनि भनिसकेका छौँ– गठबन्धनमा भएको पार्टीको दृष्टिकोण बुझिनु जरुरी छ।”

advertisement

हाल गभर्नर नियुक्तिको विषय अन्योलमा परेको भन्दै उनले यसले सकारात्मक सन्देश नपठाएको टिप्पणी गरे। “हामी चाहन्छौँ– योग्य, पेशागत मान्यता भएका व्यक्तिहरू आउन्,” उनले भने, “तर अझै अन्योल छ। यो राम्रो संकेत होइन।”

उनले राजनीतिक दलहरू सत्तामा जानका लागि बनेको भन्दै पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सत्तामा जानुपर्ने धारणा राखे।

“कहिलेकाहीं हामी आदर्श देखाउने कुरा गर्छौँ, भन्छौँ सत्तामा नजाऔँ, बाहिरै बसौँ,” उनले भने, “तर हामी सत्तामा नगए कसरी नीति, कार्यक्रम र बजेट लागू हुन्छ?”

सत्तामा गए पनि समस्या रहने र नगए पनि जनगुनासो आउने भन्दै महतले स्पष्ट पारे, “बाहिर बस्दा पनि प्रशासन र सुरक्षातन्त्रबाट अन्याय भयो भन्ने गुनासो आउँछ। सत्तामा गयो भने पनि सबैकुरा सम्भव हुँदैन। सबै कुरा सत्तामा हुँदा मात्रै हुने भने पनि होइन।”

संविधान संशोधन आवश्यक रहेको तर्क

महतले वर्तमान निर्वाचन प्रणालीबाट कुनै एक पार्टीलाई बहुमत नआउने स्थितिमा संविधान संशोधन अपरिहार्य भएको बताए। “अहिले कसैसँग पनि बहुमत छैन, यो प्रणालीबाट पनि आउँदैन,” उनले भने, “त्यसैले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ। दुई तिहाइ जुटाउन गाह्रो छ तर छलफल थाल्नैपर्छ।”

साना योजना कटौती गरी प्रभावकारी योजना ल्याउन जोड

अर्काे सन्दर्भमा उनले बजेट निर्माण गर्दा संघ सरकारले साना साना योजनामा रकम छर्ने अभ्यास हटाउनुपर्ने धारणा राखे। “कनिका छर्दैमा परिणाम आउँदैन,” उनले भने, “तीन करोडभन्दा साना योजना ल्याउनु हुँदैन भनेर गृहकार्य गरेका थियौँ तर नयाँ सरकारले फेरि सबै फाल्यो।”

हाल संघीय सरकारले तीन करोडभन्दा कमको योजना नराख्न जोड दिइरहेको जानकारी पनि उनले दिए। “थोरै योजना होस्, तर परिणाम देखिने होस्,” महतले भने।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com