एजेन्सी । वासिङ्टन डीसीस्थित यहुदी संग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै नारा लगाउँदै आएका एक बन्दुकधारीले इजरायली दूतावासका दुई कर्मचारीमाथि गोली चलाउँदा उनीहरूको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विश्वभरका कूटनीतिक मिसनहरूमा सुरक्षा कडाइ गर्न आदेश दिएका छन्।
प्रधानमन्त्री नेतन्याहुले भने, “मैले सम्पूर्ण विश्वभर रहेका इजरायली मिसनहरूमा सुरक्षा कडाइ गर्न र हाम्रा प्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छु। हामी यहुदीविरोधी भावना र इजरायलविरुद्ध फैलिरहेको हिंसात्मक उक्साहटको भयावह परिणाम देखिरहेका छौं।”
बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी संग्रहालयमा युवा पेशेवर तथा कूटनीतिक कर्मचारीहरूका लागि आयोजना गरिएको सामाजिक कार्यक्रमका बेला संग्रहालय बाहिर आक्रमण भएको थियो।
घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा सेतो सर्ट र ज्याकेट लगाएका एक दाह्री भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिँदै गर्दा उनी ‘फ्रि, फ्रि प्यालेस्टिन’ भन्दै चिच्याएको देखिन्छ।
संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार गोलीबारीमा ज्यान गुमाउने दुई युवा एक आपसमा विवाह गर्ने तयारीमा थिए।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घटनाबाट आफू ‘स्तब्ध’ भएको जनाउँदै अमेरिकासँग मिलेर जनताको सुरक्षाका लागि दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “यो आक्रमण एक घृणास्पद यहुदीविरोधी आतंक हो। अमेरिका र इजरायल दुबैले आफ्ना जनताको र रक्षा गर्न एकताबद्ध भएर उभिनेछन्। आतङ्क र घृणाले हाम्रो सङ्घर्षलाई रोक्न सक्दैन।”
त्यस्तै, इजरायली विदेशमन्त्री गिडियोन सारले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायल कहिल्यै आतङ्कको अगाडि नझुक्ने दृढता व्यक्त गरे। उनले भने, “विशेष गरी यो संवेदनशील समयमा विश्वभर रहेका हाम्रा प्रतिनिधिहरू उच्च जोखिममा छन्। हामी अमेरिकी अधिकारीहरूसँग लगातार सम्पर्कमा छौं। इजरायलले आतङ्कलाई कहिल्यै स्वीकार गर्ने छैन।”
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया