काठमाडौं । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र र सङ्घीयताको खारेजी लगायतका एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी जेठ १५ गतेदेखि आन्दोलनमा उत्रन तयारीमा रहेको छ। आन्दोलनको पूर्वसन्ध्यामा पार्टीले ४० वर्षमुनिका युवा तथा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख उपस्थितिमा जेठ १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ शीर्षक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममार्फत युवाहरूका प्रश्न, जिज्ञासा र शंका समाधान गरिने राप्रपाका युवा विभाग प्रमुख प्रकाश रिमालले जानकारी दिए।

advertisement

रिमालका अनुसार युवामाझ राप्रपाको दृष्टिकोण स्पष्ट पार्न र उनीहरूलाई आन्दोलनमा सहभागी गराउन संवाद कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। युवाहरूले कार्यक्रममा निम्न विषयमा प्रत्यक्ष रूपमा प्रश्न राख्न सक्नेछन्:

  • राप्रपाले प्रस्ताव गरेको ‘व्यवस्था परिवर्तन’को अर्थ के हो?
  • वर्तमान अवस्थालाई बदल्न किन नयाँ व्यवस्था आवश्यक छ?
  • राप्रपाले चाहेको राजसंस्थाको स्वरूप कस्तो हो?
  • हिन्दु राष्ट्र पुनःस्थापनाको औचित्य के हो?
  • संघीयता खारेज गर्नुपर्ने कारणहरू के हुन्?
  • राप्रपाको आर्थिक, सामाजिक नीति र आन्दोलनपछिको मार्गचित्र कस्तो छ?

राप्रपाले राजसंस्था मात्र होइन, जनजीविकासँग जोडिएका मुद्दा पनि उठाउने गरेको भन्दै आजको पुस्तालाई त्यो पक्षबारे स्पष्ट पार्न जरुरी भएको रिमालले बताए। “हामी युवालाई जागरुक बनाउँदैछौं, किन वर्तमान प्रणालीमा सुधार सम्भव छैन भन्ने कुरा बुझाउँदैछौं,” उनले भने।

राप्रपाले राजनीतिक तथा गैर–राजनीतिक सबै क्षेत्रका युवाहरूलाई उक्त कार्यक्रममा आमन्त्रित गरेको छ। राप्रपा पुराना पुस्ताको मात्रै पार्टी हो भन्ने आम धारणा तोड्न पनि यो संवादले भूमिका खेल्ने विश्वास गरिएको छ।

यसअघि राप्रपाले बुद्धिजीवी वर्ग, नेवाः समुदाय तथा विभिन्न पेशागत समूहसँग समेत छलफल गरिसकेको छ। अब आन्दोलनलाई प्रभावकारी बनाउन उपत्यकाभर कार्यकर्ता भेलाहरू र तयारी बैठकहरू सञ्चालन भइरहेको राप्रपाले जनाएको छ।

यसै क्रममा आन्दोलनमा सहकार्य गरिरहेका अन्य समुहहरूसँग संयुक्त जनआन्दोलन समितिले निरन्तर छलफल, योजना र समन्वय जारी राखेको पनि जानकारी गराइएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com