काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरू संविधानविपरीतका गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मुलुकलाई विखण्डनतर्फ धकेल्ने र राजतन्त्र पुनःस्थापनाको पक्षमा उभिनेहरू संविधानविरोधी भएको बताए ।
“प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रविरोधी गतिविधि संविधानविपरीत हो,” मन्त्री गुरुङले भने, “राजावादीहरूले हत्या, हिंसा, लुटपाट र आगजनीजस्ता कार्यमार्फत सरकारलाई चुनौती दिँदै राजतन्त्र फर्काउने प्रयास गरिरहेका छन्।”
उनले जेठ १५ गतेलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक दिनका रूपमा सरकारले भव्य रूपमा मनाउने तयारी गरेको जानकारी दिए।
गणतन्त्रविरुद्ध चुनौती दिन राजावादीहरूले कार्यक्रम गर्ने तयारी गरिरहेको भन्दै, मन्त्री गुरुङले उनीहरूलाई अभिव्यक्ति र सभा गर्न दिइएको अधिकार सरकारको कमजोरी नभई लोकतान्त्रिक सहिष्णुताको प्रतीक भएको स्पष्ट पारे।
“सरकार डराएको होइन, लोकतान्त्रिक अभ्यासका लागि उदारता अपनाइएको हो,” मन्त्री गुरुङले भने, “तर, यदि यस्ता गतिविधि दोहोरिरहे सरकार चुप लागेर बस्दैन, आवश्यक प्रतिवाद हुनेछ।”
उनले संविधानअनुसार राजावादी गतिविधिमा प्रतिबन्ध लगाउन सकिने छुट भए पनि अहिलेसम्म सरकारले त्यो अधिकार प्रयोग नगरेको उल्लेख गरे।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया